दोस्रो विशाल स्मृति गोल्ड कप : हिमालयन शेर्पा फाइनलमा

वीरगन्ज । हिमालयन शेर्पा दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा वीरगञ्ज ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ११ औं मिनेटमा विदेशी खेलाडी काजिम भुसारीले गोल गरी वीरगञ्ज ११ लाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा हिमालयन शेर्पाले बराबरी गोल फर्काएको थियो ।

ट्राईब्रेकरमा वीरगञ्जका दुई खेलाडीले हानेको बललाई छेकेर हिमालयन शेर्पाका किपर किशोर गिरीले टिमलाई जित दिलाए । वीरगञ्जका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरीले गोल गर्दा अनुज सिंह र रञ्जय चौधरीले हानेको बल हिमालयनका किपर गिरीले उत्कृष्ट बचाउ गरे ।

हिमालयनका तर्फबाट विजय श्रेष्ठ, विदेशी खेलाडी विलिक सिवी, प्याट्रिक पिगोभा, रवी थापाले गोल गरेका थिए भने विश्वास श्रेष्ठले पोष्ट बाहिर हानेका थिए ।

वीरगञ्ज ११ का कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए । भोलि हुने दोस्रो सेमिफाईनल खेलमा झापा ११ र नेपाल आर्मी भिड्ने छन् । भोलिको विजेतासँग हिमालयन शेर्पाले उपाधीका लागि माघ ५ गते खेल्नेछ ।

error: Content is protected !!