वीरगञ्ज, ७ साउन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन गरेका छन् ।
निकुञ्जसँगै मन्त्री यादवले माडी क्षेत्रमा भइरहेका बिकास निर्माणका कामहरुको स्थलगत अवलोकन पनि गरेका हुन् ।
माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गरेर काम अघि बढाउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।
पर्यावरणलाई सन्तुलीत राखेर बिकास निर्माणका काम गर्नुपर्नेमा मन्त्री यादवको जोड छ । हुलाकी सडक र बनको बिचमा पटकपटक उत्पन्न हुने विवादको स्थायी समाधानका लागि केही दिनभित्रै काठमाण्डौमै सर्वपक्षिय बैठक आह्वान गर्ने र पर्यावरणीय सन्तुलनलाई नबिगारी बिकास गर्ने बारे निस्कर्ष निकाल्ने मन्त्री यादवको भनाई छ ।
उनले भने, “बिकास आवश्यक छ तर बिकासको नाममा बिनाश पनि भइरहेको छ । तसर्थ हामीले बनजंगल र बन्य जन्तुलाई कुनै असर नपर्ने गरी बिकास गर्नुपर्छ ।”मन्त्री यादवले चितवन राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकनपश्चात निकुञ्जको कार्यालयमा गएर निकुञ्जले गरेका गतिविधि एवम् त्याहाँका समस्याका सम्बन्धमा छलफल गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक हरि बहादुर आचार्यले निकुञ्जको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।
निकुञ्जमा देखिएका समस्याको बारेमा अन्य सम्बन्धित निकाय र विभागहरुसँग छलफल गरेर समाधान गर्ने मन्त्री यादवले आश्वासन पनि दिएका छन् ।