Modern technology gives us many things.

वीरगञ्जको विकाशको लागी नयाँ अनुहार देख्न चाहन्छन महानगरबासी

पहिलेकाले कार्यकर्ता पोषने काम मात्र गरे

वीरगञ्ज,१६ वैशाख । गएको पाँच वर्षमा वीरगञ्जको विकाशले कुनै फडको मार्न नसकेपछि महानगरका स्थानीय परिवर्तन खोजिरहेका छन ।

वडा स्तरमै पुगेको स्थानिय सरकारले संतोषजनक काम गर्न नसकेपछि वीरगञ्जका स्थानियहरुले यसपटक महानगरको प्रमुखमा ्नयाँ अनुहार देख्न चाहन्छन ।

गएको स्थानीय निर्वाचन बाट मेयर पदमा निर्वाचित भएका विजय कुमार सरावगीले आफैले घोषणा गरेका कामसमेत गर्न नसकेका कारण पुनः ठूलाठूला सपना बाँडेर अहिले निर्वाचनमा होमिएपछि नगरबासीले उनलाई विश्वास गर्ने आधार नरहेको स्थानीय बताउछन ।

उनले अघिल्लो निर्वाचनताका मेरो कसम नामले बाँडेको सपनाबाट सबै प्रभावित भएका थिए र व्यापारिक पृष्ठभूमिबाट आएका सरावगीसँग काम गर्ने भिजन होला, देशविदेशमा रहेका संघसंस्थासँग सहकार्य गरेर उनले यहाँ नीतिगतदेखि भौतिक रुपमै राम्रा परिवर्तन गर्लान भन्ने नगरबासीको सोच थियो तर उनि निर्वाचित भएर आएपछि त्यस्तो केहि भएन कार्यकर्ता पोषने काम मात्र गरेको स्थानीयको गुनासो छ।

वीरगञ्ज महानगरमा एडीबीको परियोजना मार्फत भएको काम बाहेक महानगर आफैले त्यस्तो ठुलो विकाशको कुनै काम गरेको देखिदैन । महानगरबासीलाई राहत दिनुको साटो चर्को कर लादेर महानगरबासीको ढाड सेक्ने काम मात्र गरेको वीरगञ्ज १२ मुर्लीका रमेश कुमार बताउछन । महानगरको विकासका लागि योजना लिएर आउने विज्ञहरुलाई उनले आफै पढाएर पठाउने गरेको महानगरकै कर्मचारीहरु बताउँछन् ।

सबैमा शिक्षाको पहुँच पुगोस् भन्ने अभिप्रायले सरकारले सामुदायीक विद्यालयमा माद्यामिक सम्मको शिक्षालाई निःशूल्क बनाएर सबै जिम्मेवारी स्थानीय तहलाई नै हस्तान्तरण गरेको थियो । तर सरकारको प्रयास असफल भयो भन्दा कुनै फरक नपर्ला । किनभने अहिले पनि अंग्रेजी कक्षा, परीक्षा शूल्कलगायतका बहानामा सामुदायिक विद्यालयमा पनि शूल्क असुल्ने क्रम नरोकिदा गरिब, विपन्न समुदायका बालबालिकाहरुसमक्ष शिक्षाको पहुँच पुग्न नसकेको यथार्थ हो । शैक्षिक क्षेत्रमा सुधार होला भन्ने अपेक्षा पनि निरासामा परिणत भयो । मेयर सरावगी प्रधानाध्यापक र शिक्षक सरुवाको राजनीतिमै पाँच वर्षसम्म रुमलिए ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माद्यामिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरे पनि सो व्यवस्था कार्यन्वयन हुन सकिरहेको छैन । यसका अलावा विद्यालयमा पनि मनलाग्दो नियुक्ती र आफुखुशी सरुवा गर्ने प्रवृतिले कतिपय शिक्षकहरु नै सरावगीसँग रुष्ट छन् ।

भौतिक संरचना थप्नु त परको कुरा भएका संरचनाहरुको समेत संरक्षण तथा संवद्र्धन एवम् जगेर्ना गर्न नसकेको वीरगञ्जका बौद्धिक वर्गको टिप्पणी छ । महानगरको मूख्य सडकको अवस्था हेर्दा बौद्धिक वर्गको कुरा प्रमाणित हुन्छ । घण्टाघरदेखि माइस्थान चोकसम्मको बाटो खाल्डाहरुले भरिएको छ । वर्षायाममा अर्को मूख्य चोक आदर्शनगर पूर्ण रुपले डुब्छ । सरावगी भने उक्त सडक निर्माणको जिम्मेवारी महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिने गरेका छन् ।

त्यसैगरी महानगरवासीको लाइफलाईन मानिने सिर्सिया नदीको अवस्थापनि दिक्क लाग्दो छ । कालो दुर्गन्धित नदीले हाम्रो शहरको पहिचानलाई नै कालो बनाएको छ । तर नदीलाई सफा बनाउन महानगरका प्रतिनीधिहरुले केही गरेको देखिँदैन ।

फोहोर व्यवस्थापनमा पनि महानगर चुकेको छ । निर्वाचित भएर आएदेखि फोहोर व्यस्थापनका लागि करोडौँ खर्च भएको मेयर सरावगीको दावीलाई मान्ने कुनै आधार छैन । यहाँका सडक, नाला र चोकचोकमा थुप्रिएको फोहर पनि पाँच वर्षदेखि उस्तै छ । तर मेयर सरावगी भने यसको जिम्मेवारी महानगरबासीलाई दिने गरेका छन् । हुनत फोहर व्यस्थापन महानगर एक्लैले गर्न नसक्ने कुरा हो, स्थानीयहरुको साथ पनि आवश्यक हुन्छ । यद्दपी, महानगरपालिकाले प्रयास पनि नगरेको अवस्था छ । फोहर व्यस्थापन नहुँदा यहाँ लामखुट्टेको समस्या विकराल छ ।

वीरगञ्ज महानगरपालिका भएपनि महानगरसँग हुने कुनै विशेषता नभएको सरावगीले पटक पटक स्विकार गर्दै आउनुले पनि बिकास नभको कुरालाई थप पुष्ठि गरेको छ । ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्न सघन शहरी बिकास कार्यालयले सडक नबनाईदिएको भए आज पनि कच्ची बाटो र धुलो तथा धुवा र हिलोमै नगरबासी पौँठेजोडी खेल्न विवश हुने थिए । तसर्थ वीरगञ्जको विकाश गर्न सक्ने असल व्यक्तीलाई रोजेर मतदान गरौं ।

Leave A Reply

Your email address will not be published.