Modern technology gives us many things.

जसपा र कांग्रेसका नेताहरुले पारे चुनावी अभियानलाई तीव्रता

वीरगञ्ज, १६ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।

गठबन्धनले शुक्बार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान शुरु गरेको हो ।

अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, सङ्घीय सांसद् प्रदीप यादवलगायत जसपा र कांग्रेसका कार्यकर्ताहरुले घरघरमा मतदाताहरु भेट्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

निर्वाचन मिति नजिकिंदै गठबन्धनका साझा उम्मेदवारहरुले सुरु गरेको घरदैलोबाट वीरगञ्जको माहोल परिवर्तन भएको छ । विपक्षीहरुले गठबन्धनका साझा उम्मेदवारहरु एक ठाउँमा आउन नसक्ने भनिरहँदा आज भएको संयुक्त घरदैलोले उनीहरुको मुख बन्द भएको जसपाका नेता मुकेश द्विवेदीले बताए ।

‘वडा १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो सुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,’ जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले भने ।

घरदैलो अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरुले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरुसँग आग्रह गरिरहेका छन् ।
सङ्घीय सांसद् प्रदीप यादवले गठबन्धनका उम्मेदवारहरुले संविधान विरोधी तत्वहरुलाई पराजित गर्ने विश्वास व्यक्त गरे । गठबन्धन जितेर आए मात्र देशमा ठोस नीति, कार्यक्रम, दिगो विकास र शान्ति कायम हुने बताए ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाई कमिटिका अध्यक्ष अरुण यादव लगायत जसपा र कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

स्थानीयहरुले पनि गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने आश्वासन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.