बहुदरमाईमा एमालेबाट मेयरमा पटेल र उपमेयरमा कुशवाहाको नाम सिफारिस
वीरगञ्ज, २ बैशाख । आसन्न स्थानिय निर्वाचनमा पर्साको बहुदरमाई नगरपालिका नेकपा एमालेबाट नगरप्रमुख (मेयर) मा शिव पटेल र उप-प्रमुख (उपमेयर) मा सुष्मा कुशवाहाको नाम सिफारिस भएको छ ।
एमाले बहुदरमाई नगर कमिटिको शुक्रबार वडा नम्बर २ को पिपरामा बसेको बैठकले पार्टीबाट मेयरमा पटेल र उपमेयरमा कुशवाहाको नाम सिफारिस गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको बैठकमा नगर कमिटिका सदस्यहरुले पटेल र कुशवाहाको नाम सर्व सहमतिबाट पारित गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको नगर कमिटिका अध्यक्ष प्रमोद कुशवाहाले जानकारी दिए ।
बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य तेजप्रकाश निषाद, जिल्ला उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता, सह-सचीव सन्जिव मिश्रा, जिल्ला कमिटि सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी, रामबाबू साह, सुनिल कुशवाहा, लगायतको उपस्थिति रहेको नगर कमिटिका सचीव सुरेन्द्र यादवले बताए ।
पटेल गत फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका थिए । उनि अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर पदमा निर्वाचन लडेका थिए ।
दुई हजार ५१ मत ल्याएका उनि नेपाली कांग्रेसका नितेन्द्र साहसँग पराजित भएका थिए ।