Modern technology gives us many things.

नागरिकता सम्बन्धी समस्या छिटै समाधान गरिने : गृहमन्त्री बालकृष्ण खाँड

वीरगञ्ज, २१ चैत । नागरिकता सम्बन्धी समस्या छिटै समाधान गरिने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् ।

बाराको सिम्रौनगढमा आयोजित नेपाली काङ्ग्रेसका पूराना नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यहीँ जन्मिएर हुर्किएकाहरुलाई नागरिकताबाट बञ्चित गर्न नहुने बताउँदै छिटै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताए ।

पहाडी र मधेशीबिचको विभेदलाई हटाएर मधेश प्रदेशलाई उत्कृष्ट एवम् विकसित प्रदेशको रुपमा विकास गर्न काङ्ग्रेसले पहल गर्ने पनि खाँडले बताए ।

सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधनको अभाव र सिमित सुरक्षा पोष्टका कारण सीमा क्षेत्रमा बसोबास गरीरहेकाहरुले नै सीमाको पहरेदारी गरीरहेको खाँडको भनाई छ ।

नेपाललाई सबल र समृद्ध बनाउन जात, धर्म एवम् सम्प्रदायभन्दा माथि उठेर एकताको सुत्रमा बाँधिनुपर्नेमा गृहमन्त्री खाँडले जोड दिएका छन् । उनले भने, ‘देशलाई बलियो बनाउनका लागि काङ्ग्रेस बलियो हुन आवश्यक छ ।

आउने निर्वाचनमा काङ्ग्रेसलाई धेरै भन्दा धेरै ठाउँमा जिताउन सबै लाग्नुहोस् । मधेशको विकास भएपछि देशको विकास हुन्छ । देशको विकासका लागि काङ्ग्रेसले जित्न आवश्यक छ ।’

गृहमन्त्री खाडले अमेरिकी अनुदान सहयोग एमसीसी सैन्य गठबन्धन नभएर अनुदान भएको पनि उनले स्पट पारे । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा अफवाह मात्रै भएकाले भ्रममा नपर्न उनको आग्रह छ ।

देशलाई सबल बनाउनका लागि एमसिसी पारित गरेको बताउँदै परियोजनाबाट नेपालको वैदेशिकर व्यापार घाटा कम हुने पनि खाँडको विश्वास छ ।

Leave A Reply

Your email address will not be published.