प्रहरी एआईजी बढुवा सदर. सिफारिस गर्ने बढुवा समितिको निर्णय
वीरगञ्ज, १७ चैत । लोकसेवा आयोगले नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय सदर गरेको छ ।
आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।
चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए ।
तर उजुरी सुन्ने सचिवालयले बढुवा समितिको निर्णयमा उजुरकर्ताको दावी बमोजिम ‘त्रुटी नदेखिएको’ बताएका छन् ।
आयोगको निर्णयसँगै अब एआईजी बढुवा सिफारिस निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरिने गृह मन्त्रालय स्रोतले जनाएको छ ।