५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा
वीरगञ्ज, ५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले ५० लाख मूल्य बराबरको भन्सार छलीका हार्डवेयर पार्टसहित ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलवार साँझ साढे ७ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थानस्थित सडकखण्डबाट प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
बिलबिजकभन्दा बढी खुद्रा मालबस्तुहरु तथा हार्डवेयर पार्टसहरु लोड गरी काठमाण्डौ जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको चेकजाँच टोलीले प्र.२ ०३ ००१ ख् ३६८९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने ३२ वर्षीय रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
डिएसपी खनालका अनुसार आलमविरुद्ध राजस्व छली सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।