Modern technology gives us many things.

भिडभाडजन्य क्रियाकलाप गर्न नदिने डिसिसिएमसी पर्साको निर्णय, सिमामा कडाई

जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह

वीरगञ्ज, ५ माघ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

डिसिसिएमसी पर्साका संयोजक एवम् जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बुधवार बसेको बैठकले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट सुरक्षित रहनका लागि भिडभाडजन्य क्रियाकलाप गर्न नदिने निर्णय गरेको छ ।

बुधवार राति १२ बजेदेखि लागु हुने गरी सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सिनेमा हल, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्ने नगराउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन गर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई सञ्चालन गर्ने । शैक्षिक संस्थाहरुको संचालन र स्थानीय हाट बजार लगाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहले संक्रमणको अवस्था विचार गरी आफ्नो क्षेत्रको लागि आवश्यक निर्णय गर्न सक्ने निर्णयमा उल्लेख छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न गराउन पाइने निर्णय भएको छ ।
सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी सञ्चालन गर्न पाइने छ ।

माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाईलमा फोटो भएपनि हुने) अनिवार्य आवश्यक पर्ने पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक–तिहाईमा नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

रङ्गशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक–तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

ईनर्वा सिमानाकाबाट आउने यात्रुको नाकामा स्थापित हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच र एन्टिजेन परीक्षण गर्ने गराउने, परीक्षणको नतिजा नेगेटिभ आएमा गन्तव्यमा जान सहजीकरण गर्ने, नतिजा पोजिटिभ आएका र बिरामीलाई आवश्यकता अनुसार आईसोलेसन केन्द्र र अस्पतालमा उपचारको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

नाकाबाट आउने यात्रुको अभिलेख व्यवस्थित गर्ने, आवागमनमा थप कडाई गर्ने, इनर्वा सीमा नाका बाहेक अन्य नाकाहरुमा सम्बन्धित स्थानीय तहहरुले हेल्थ डेस्क संचालन गर्ने गराउने पनि निर्णय भएको प्रजिअ ढकालले बताए ।

Leave A Reply

Your email address will not be published.