Modern technology gives us many things.

जसपा पर्साको विवाद छताछुल्ल : पर्सामा समानान्तर कमिटी गठन

वीरगन्ज । जनता समाजवादी पार्टीको पर्सामा नेतृत्वको विषयलाई लिएर फुट देखिएको छ।

जसपाको एक समूहको बैठकले आइतबार समानान्तर जिल्ला तदर्थ समिति गठन गरेपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको हो।

वीरगन्जमा बसेको जिल्ला कार्यसमितिका नेताहरुको बैठकले जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको पद खारेज गरेर अब्दुल रहिम उर्फ मन्जुर अन्सारीको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो। अन्सारी प्रदेश सांसद पनि हुन्।

जिल्ला कार्य समितिका बहुमत सदस्यहरुको बैठकले यसअघिका जिल्ला अध्यक्ष रामनरेश यादवको पद खारेज गरेर जिल्ला तदर्थ समितिको अध्यक्षमा अन्सारीलाई चयन गर्ने निर्णय गरेको जसपाका जिल्ला उपाध्यक्ष बासुदेव यादवले बताए।

‘८३ सदस्यमध्ये ६२ जनाले रामनरेश यादवको पद खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। अन्सारीलाई जिल्ला अध्यक्ष बनाउने निर्णयसमेत गरिएको छ,’ उनले भने।

उपाध्यक्ष यादवका अनुसार बैठक बोलाएर जिल्ला अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि जिल्ला अध्यक्ष रामनरेश यादवलाई पटक–पटक आग्रह गरिएको थियो।

जिल्ला अध्यक्ष यादवले अटेर गरेपछि उनको पद खारेज गरेर अन्सारीलाई जिल्ला अध्यक्ष बनाइएको जिल्ला उपाध्यक्ष यादवले बताए।

रामनरेश यादवले बहुमत सदस्यलाई समेत नजरअन्दाज गरेर एकलौटी तरिकाले पार्टीलाई आफ्नो अनुकूल चलाउन खोजेपछि उनको पद खारेज गरिएको उपाध्यक्ष बासुदेव यादवको भनाइ छ।

यता, रामनरेश यादवले भने जिल्ला कार्य समितिसँग आफ्नो पद खारेज गर्ने अधिकार नै नभएको बताए।

‘समायोजनमार्फत् मैले अध्यक्ष पदको जिम्मवारी पाएको हुँ। प्रदेश र केन्द्रीय कमिटीले मलाई आधिकारीक अध्यक्ष मानेको छ। त्यसैले भ्रममा पर्न जरुरी छैन,’ उनले भने।

आइतबारको बैठकमा जसपाका नेतासमेत रहेका जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, जसपाका जिल्ला उपाध्यक्ष बासुदेव यादव, नगर अध्यक्ष ईश्वर चन्द्र यादव, नेता जरी लामा, सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवाललगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो।

Leave A Reply

Your email address will not be published.