Modern technology gives us many things.

ई-रिक्सा चालकको हत्यामा संलग्न ३ जनालाई पर्सा प्रहरीले गर्यो सार्वजनिक

वीरगन्ज — ८ दिन अगाडि मृत अवस्थामा फेला परेका एक भारतीय रिक्सा चालकको रिसइबी र आर्थिक प्रलोभनका कारण हत्या गरिएको पाइएको छ ।

भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाली वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।

प्रहरीले मियाँको हत्यामा संलग्न तीनजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको छ ।

ई-रिक्सा व्यवस्थापनमा दुईजना मतियारको रुपमा प्रयोग भएका छन् । एक जना भारतीय अझै फरार रहेको प्रहरीले जनाएको छ ।

घटना घटेको केही दिन अगाडि मियाँसँग एउटै घरमा भाडामा बस्ने सपन मण्डलसँग झगडा परेको थियो । बिहारको मुंगेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन वीरगन्जमा फल्स सिलिङको काम गर्छन् ।

‘सपनले सुनिल कुमारसँग मिलेर मुख्तारको हत्या योजना बनाएका थिए,’ एसपी बस्नेतले भने, ‘त्यसका लागि ई-रिक्सा खरिद गर्नका लागि ५० हजार रुपैयाँ दिने भनि सुपारी दिएका थिए ।’ बिहार मोतिहारी निवासी सुनिल हाल वीरगन्जको छपकैयामा बस्दै आएका छन् ।

दोस्रो लकडाउन अगाडिसम्म उनी मुख्तार बस्ने घरमै भाडा लिएर बस्थे । तर, दुवैको श्रीमतीको बीचमा झगडा भएपछि अहिले छेउकै घरमा भाडामा बस्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

एसपी बस्नेतका अनुसार सुनिलले योजना बनाई एकजना भारतीय साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रिमा मिस्त्री काम गर्दा परिचय भएको निकेशलाई बोलाएका थिए ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले सुनिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि थप अभियुक्त पक्राउ परेका थिए ।

‘पुस २१ को करिब पौने ५ बजेको समयमा सुनिलको भारतीय साथी र निकेसले मुख्तारलाई घटनास्थल लिएर पुगेका थिए,’ एसपी बस्नेतले भने, ‘नारायणी अस्पताल अगाडि श्रीमतीको ठेलापसल छेउमा ई-रिक्सा रोकी बसेका मुख्तारलाई दुबैलै बयोधा अस्पतालबाट डेलिभरि केस नारायणी अस्पताल ल्याउनु छ, ५ सय रुपैयाँ भाडा दिन्छौं भनी लगेका थिए ।’ पहिलेदेखि घटनास्थलमा रहेका सुनिलले निकेश र भारतीय साथीसँग मिली फलामको रेन्चले मुख्तारको टाउकोमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।

मृत्यु भएपछि नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए । सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई-रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ ।

गत पुस २५ मा मृतकको ई-रिस्का बाराको फेटा गाउँपालिका-४ स्थित पिलाहा सडकमा बरामद भएको थियो ।

प्रहरीले अभियुक्त सुनिलको अटो समेत बरामद गरेको छ । घटनामा प्रयोग भएको फलामको रेन्च, अभियुक्तहरुको मास्क, रगत लागेको सर्ट, रगत लागेको ज्याकेट, रगत लागेको स्पोर्टस जुत्ता बरामद भएको एसपी बस्नेतले जनाए ।

‘अनुसन्धानमा हालसम्म खुले अनुसार मृतकसँगको झगडापश्चातको रिसइबी र आर्थिक प्रलोभनमा हत्या भएको देखिन्छ,’ एसपी बस्नेतले भने ।

Leave A Reply

Your email address will not be published.