Modern technology gives us many things.

पर्सामा कोरोना विरुद्धको खोप अभियान शुरु, ३ दिन सम्म चल्ने

हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं

वीरगञ्ज,२१ मंसिर । पर्सामा ३ दिने कोरोना विरुद्धको खोप अभियान संचालन हुने भएको छ ।

जिल्ला खोप समन्वय समिति पर्साले मंगलबार बीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा मंसिर २२, २३ र २४ गते कोभिड १९ विरुद्धको खोप अभियान संचालन हुने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजना भएको पत्रकार सम्मेलनमा जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले यस पटकको अभियानमा कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ वर्षमाथिको सम्पूर्ण नागरिकलाई खोप दिइने बताए ।

पर्साका स्थानीय तहहरुको सहकार्यमा १२९ वटा खोप केन्द्र स्थापना गरी खोप कार्यक्रम संचालन हुने तथा आवश्यक परेको खण्डमा तत्कालै खोप केन्द्र स्थापना गर्ने व्यवस्था मिलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

खोप कार्यक्रममा ४ सय ७५ स्वास्थ्यकर्मी तथा ७ सय ६५ जना सामुदायिक महिला स्वयंसेविकाहरुलाई परिचालन गरिएको ढकालले बताए । यस अघि पर्सामा ७ पटक खोप अभियान संचालन भईसकेको छ । त्यसक्रममा पर्सा जिल्लामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोश्रो मात्रा खोप लगाईसकेका छन ।

जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिशिल्डको दुवै डोज, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै डोजको खोप लगाएको पत्रकार सम्मेलनमा प्रजिअ ढकालले उपलब्ध गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो पटक नेपालमा पनि कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको बताउदै प्रजिअ ढकालले भेरियन्टसँग लड्नको लागि सबै संयन्त्र हाइअलर्टमा राखिएको बताए । सिमा नाकामा निगरानी चेकजाँच तथा मास्क अभियानहरु संचालन गर्न गराउन निर्देशनहरु जारी गरिएको ढकालले बताए ।

हालको अवस्था आत्तिहाल्ने नरहेको कारण लकडाउनको कुनै सम्भावना अहिले नरहेको बताउदै प्रजिअ ढकालले मास्क भने अनिवार्य लगाउन सबैलाई आवहन गरे ।

पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा छुट्टै खोप केन्द्र स्थापना गरिने छ र आवश्यकता अनुसार थप हुने गरी हाल बीरगन्ज बिर्तास्थित नारायणी सेन्ट्रल हस्पिटलमा आईतबार, गण्डक स्थित बीरगन्ज हेल्थ केयर हस्पिटलमा मंगलबार र बीरगन्ज घण्टाघरस्थित लिंकरोडमा स्थित भवानी हस्पिटलमा बिहीबार भेरोसिलको पहिलो वा खोप कार्डको आधारमा दोश्रो मात्रा खोप सेवा लिन सकिने स्वास्थ्य कार्यालयले व्यवस्था मिलाएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर लगायत पर्साका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.